Artist Biography:
पहाडी जिल्ला बाग्लुङ टिट्याङ गाविसबाट २०५६ सालमा राजधानी छिर्दा गायक हुने धोको थियो भूपेन्द्र खड्काको मनमा । त्यसका लागि उनले एक वर्ष डोरेमी सङ्गीत पाठशालामा सङ्गीत सिकेर जुनियर डिप्लोमा पनि सिध्याएकै थिए । यति सिकिसकेपछि उनलाई लाग्यो, अब गीत पनि रेकर्ड गर्नुपर्छ । त्यसपछि डोरेमी स्टुडियोमा उनले "कहिले आफ्नै भनी हाँसे" गीत रेकर्ड गरे । त्यो गीतलाई सुगमजस्ता नयाँ पुस्ताका रेडियोकर्मीहरुले हौस्याउन बजाई पनि दिए । तर उनको गायनभन्दा लेखन 'अच्छा' देखेर सङ्गीतकार न्हृयू वज्राचार्यले उनलाई लेख्नलाई उत्प्रेरित गरे ।
शुरुमा त आफ्नो सपनामाथि घात सम्झिए भूपेन्द्रले । तर लेख्दै जाँदा उनको लेखनलाई रुचाउनेको संख्या बाक्लिन थाल्यो । यसपछि अहिले धेरै जना नयाँ पुस्ताका गीतकारका लागि भूपेन्द्रको नाम एउटा आरिसलाग्दो अवस्थामा आइपुगेको छ । हुन पनि गएको वर्ष कर्ण दासले उनको गीत 'भेटिएर छुट्टिनुभन्दा....' गाएर थुप्रै अवार्ड बटुले भने स्वयम् गीतकारले पनि ईमेज र अन्नपूर्ण अवार्ड यही गीतबाट हत्याए ।
अहिले उनीसँग गएको वर्ष२०६३ ले दिएको सफलताको ताँती र २०६४ सालमा गर्नुपर्ने धेरै कामको थाँति दुवै छन् । गएको वर्ष उनले आफ्ना ४४ गीतलाई रेकर्ड गर्न भ्याए । उनका गीत कर्ण दास, जगदीश समाल, सत्यराज आचार्य, सुगम पोखरेल, सनूप पौडेल, मौसमी गुरुङ, बाबु बोगटी, शिव परियार, रेश्मा सुनुवारजस्ता ४० गायकगायिकाले गाउन भ्याऎ ।
सबैभन्दा रोचक कुरा त क्वेष्ट इन्टरटेन्मेन्टका दुइ चलचित्रका लागि उनका गीत गाइने भएका छन् भने गोपीकृष्ण मुभिजको कुसुमे रुमालका लागि शीर्ष गीत उनैले लेख्ने भएका छन् ।
दुइटा मन गाँस्ने चिनो यो रुमाल
दुइ मुटु रेट्ने पनि यो रुमाल
कसरी सिऊँ अब धागो बिना रुमाल
मेरो मुटु मेरो मन कुसुमे रुमाल, कुसुमे रुमाल
२०५८ सालबाट व्यवासायिक रुपमा गीतिलेखन शुरु गरेका यी युवा गीतकारले शुरुमा आफैँले लेखेका गीतलाई एल्बम बनाएर बजारमा ल्याएका थिए । २०५९ भदौमा उनले 'आवरण' एल्बम १ लाख १० हजार खर्च गरेर बजारमा ल्याएका थिए । जसलाई रामकृष्ण ढकाल, इश्वर अमात्य, सुरेशकुमार, विमला राई, दीपकराज पाण्डेजस्ता गायकगायिकाले स्वर दिएका थिए । त्यसपछि उनले 'बुलबुल' (२०६०) बजारमा ल्याए । नेपाली गजलको इतिहासमा त्यस्तो किसिमको पहिलो एकल एल्बम भएकाले यसको निकै चर्चा भएको थियो । बुलबुलका जब दिन ढल्दै गयो, हिँडिसकेँ भन्थेँ धेरै, हर साँझ जून हेर्दै रुन्छे मेरी बुलबुल, यस्तै यस्तै नसोचेकै केकेकेके भयोजस्ता चार गीत चल्तीमा आए ।
यसपछि उनले सुगम पोखरेलको सूत्र एल्बममा समेटिएको मनको दैलो... र कर्ण दासको आधा सपनामा समेटिएको गीत भेटिएर छुट्नुभन्दा... सबैभन्दा बढी बजेका गीतमा दरिए । उनले गायनजस्तो पेशालाई किन त्यागे त ? गीतकार खड्का भन्छन्- "काम गरेर खानु पर्ने बाध्यताका कारण संगीतजस्तो पेशालाई मैले इमान्दारितापूर्वक काम गर्छु जस्तो लागेन । साथीहरुले पनि गायनभन्दा गीत लेखन राम्रो भनेर हौस्याए ।"
अहिले क्लासिक एफएममा समाचारवाचक तथा एउटा निजी विद्यालयमा शिक्षकका रुपमा कार्यरत खड्का आफ्नो सबैभन्दा खुशीको क्षण नारायणगोपालको अन्तिम सङ्गीतमा शब्द भर्नुलाई लिन्छन्, भन्छन्- "पेमाला गुरुवाचार्य जीवितै रहँदा पावल चाम्लिङले गाउने अधिकार लिएको एउटा सङ्गीतलाई मैले शब्दमा ढाल्न पाएको छु । यो मेरालागि खुशीको कुरा हो ।" नारायणगोपालको उक्त गीत शेलो शैलीमा रहेको उनले बताए । डिसाइड एल्बममा संग्रहित यो गीत रियाज म्युजिकबाट बजारमा आउनेछ ।
यसपछि पनि उनीसँग योजना निकै छन्, भन्छन्- "मेरो एकल एल्बम र नयाँ गीतिसंग्रह 'निःशब्द शब्दहरु' बजारमा ल्याउने तयारीमा छु ।"
लौ त शुभकामना !
शब्द तथा तश्वीरः अच्युत कोइराला
Source:
http://enasha.com/article.php?id=631